काठमाण्डु, ४ भदौ– पछिल्लो समय नेपालमा हैजा सङ्क्रमितको संख्या ५८ जना पुगेको छ । विभिन्न जिल्लामा सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित संख्या ५८ पुगेको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाले जानकारी दिएको छ ।
ललितपुरमा मात्र ४१ जना हैजा सङ्क्रमित रहेको ईडीसीडी शाखाले जानकारी दिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाण्डुमा ७ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
हैजा सङ्क्रमित ५८ जनामध्ये ५६ जना निको भईसकेका छन् । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ ।
त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।