काण्डमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ओलीले भ्रष्टाचारीको मुख हेर्दिनँ भन्दै छन्: वर्षमान पुन

काठमाण्डु टुडे २०८१ भदौ ४ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, ४ भदौ– पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन एमाले अध्ययक्ष एवं प्रधानमन्त्री केपी ओलीले अनेक काण्डमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिँडेको आरोप लगाएका छन ।

पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रोल्पाको २३औँ सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री ओलीले काण्डमा मुछिएकाहरूको बिचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिन भनेको सुन्दा मानिसहरू हाँस्ने गरेको पनि बताएका छन । उनले भने, ‘केपी ओलीले ‘म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, भ्रष्टाचारीको मुख हेर्दिन भन्दै आउनुभएको छ, ‘दायाँबायाँ विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई राखेर यसो भनेको सुन्दा मानिसहरू हाँस्ने गर्छन् ।

मान्छेहरू भन्छन् कि ओलीजीले भ्रष्टाचारीको मुखमा पो नहर्ने भनेको त दायाँबायाँ नै राख्दिन भन्नुभएको छैन ।’ आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात कांग्रेस–एमालेबिच सहमति गरिएको आरोप उनले लगाएका छन ।

उनले भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेट प्रकरणमाथि छानबिन हुने भएपछि र बालुवाटारमा हडपिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्याशित रूपमा कांग्रेस–एमालेबिच गठबन्धन भएको आरोप पनि लगाएका छन ।

माओवादी सशस्त्र जनयुद्ध, ०६२÷०६३ को संयुक्त आन्दोलन, शान्ति प्रक्रिया, गणतन्त्र घोषणा र संविधानसभामार्फत संविधान निर्माणसम्म आउँदा कांग्रेस–एमालेलाई रूपान्तरण गरियो होला भन्ने आफूहरूको अनुमान पछिल्ला घटनाक्रमहरूले गलत साबित भएको पुनले बताएका छन ।

‘भ्रष्ट आचरणका कारण जनताबिच डुङडुङ गन्हाएका पुराना पार्टी कांग्रेस र एमालेलाई शान्ति प्रक्रिया, गणतन्त्र, संविधानसभा हुँदै हामीले यहाँसम्म ल्याएका हौँ ।

हामीलाई लागेको थियो उनीहरू यहाँसम्म आउँदा केही सुध्रिए होला । तर उनीहरू भ्रष्टाचार, बेथिति र बिचौलिया वर्गको सेवा गरेर पुरानै ठाउँमा जान खोजेका छन् ।

हामी उनीहरूलाई पुरानै ठाउँमा फर्कन दिँदैनौँ । खबरदारी गर्छौँ’, पुनले भने । पुनले भ्रष्टाचारविरुद्ध र सुशासन कायम गर्न आफूहरूले सडक र सदनबाट सरकारलाई खबरदारी गर्ने चेतावनी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us