बुटवलमा तीन सवारी साधन आपसमा ठोक्किए, स्कुटरमा सवार युवतीको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ ४ गते ८:५४ मा प्रकाशित

रुपन्देही, ४ भदौ– बुटवलको बेलबासमा तीन सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई हाल बुटवल उपमहानगरपालिका–११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाका अनुसार लु८७प ४५७३ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई सोमबार राति ८ बजेतिर बुटवल उपमहानगरपालिका–१२ शान्तीचोकमा तीव्र गतिमा रहेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट स्कुटर अनियन्त्रित हुँदा सुष्मा लु१च ६७८३ नम्बरको बलेरो जिपको मुनी पुगेकी थिइन् ।

गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल लाने क्रममा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरी निरीक्षक बानियाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us