
काठमाण्डु, ३ भदौ– भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली किन्ने भएको छ ।
काठमाण्डुस्थित भारतीय दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका १२ जलविद्युत परियोजनाबाट थप उक्त परिमाणमा थप विद्युत लैजाने बताएको हो । भारतले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत खरिद गर्ने सम्झौता गर्ने भएको छ ।
मध्यकालीन सम्झौतापछि दैनिक ९ सय ४१ मेगावाट बिजुली भारत जानेछ । नेपालबाट भारतले दीर्घकालीन ऊर्जा सम्झौताअनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत लैजाने सहमति यसअघि नै गरिसकेको छ ।
गत आर्थिक वर्षमा भारतले नेपालबाट १६ अर्ब ९३ करोड रूपैयाँ बराबरको विद्युत लगेको थियो । सन् २०२१ अक्टोबरमा नेपालले पहिलो पटक भारतमा ३९ मेगावाट विद्युत निर्यात गरेको थियो ।