काठमाण्डु, ३ भदौ– नेपाली बजारमा अण्डाको मूल्य घटेको छ। माग घटेसँगै मूल्य घटेको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिएका छन ।
उनले भने, ‘प्रतिक्रेट २० रूपैयाँदेखि ६० रूपैयाँले मूल्य घटेको छ ।’ साउन महिनाको सुरूआतदेखि नै अण्डा बिक्रीमा गिरावट आएको उनले जानकारी दिएका छन ।
अण्डा नबिकेपछि थोरै–थोरै गरेर मूल्य घटिरहेको थियो तर संघले समर्थन भने जनाएको थिएन । आइतबार संघले बैठक बसेर सोमबारदेखि लागु हुने गरी अण्डाको मूल्य घटेको जानकारी दिएको हो ।
साउनमा २५ प्रतिशतले अण्डा उपभोगमा कमी आएको पनि उनले जानकारी दिएका छन । हाल बजारमा मध्यम, ठूलो र एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ।
नयाँ मूल्य अुनसार किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय २५, ठूलो अण्डा चार सय ८० र एक्सेल अण्डा पाँच सय रूपैयाँ तोकिएको छ ।
यसअघि मध्यम अण्डा प्रतिक्रेट चार सय ८५, ठूलो अण्डा पाँच सय र एक्सेल अण्डा पाँच सय १० रूपैयाँ थियो । त्यस्तै उपभोक्ताका लागि भने अण्डा प्रति गोटा २० देखि २२ रूपैयाँ पर्ने भएको छ ।