अर्थतन्त्रलाई चलायमान गर्न कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको हो: गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८१ भदौ ३ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि कांग्रेस– नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन ।

आज (सोमबार) काठमाण्डुमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा वृहत् साङ्गीतिक काव्य गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।

उनले विगत डेढ वर्षको अवधिमा सत्ता समीकरण फेरिरहँदा पुँजीगत खर्च घटेको तथा आर्थिक गतिविधिमा शिथिलता आएको दाबी गरेका छन । उनले विगतको सरकारले सुशासन दिन नसकेको र विधिको शासन पनि चलाउन नसकेको भन्दै निराशातिर गइरहेको मुलुकलाई आशामा बदल्नका लागि दुई ठुला पार्टीको गठबन्धनमा सरकार बने दाबी गरेका छन ।

उनले यो सरकार विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउन तथा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि गठन भएको पनि बताएका छन ।

त्यसैगरी देशमा देशी, विदेशी लगानीको वातावरण बनाएर बढी रोजगारी सिर्जना गर्ने पनि सरकारको उद्देश्य रहेको उनले बताए । गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ पार्नेगरी संविधान संशोधन गर्ने कुरापनि सरकारको एजेण्डा रहेको बताएका छन ।

उनले भने, ‘राजनीतिक अस्थिरताका कारण उत्पन्न समस्याले मुलुकमा निराशाको अभिव्यक्ति देखापर्यो । मुलुक निराशातर्फ जान लागेको अवस्था सिर्जना भयो ।

त्यो निराशालाई आशामा बदल्नका लागि, राजनीतिक स्थिरताका साथ शिथिल भएको अर्थतन्त्रलाई गतिशील, चलायमान, क्रियाशील गर्नका लागि, विकास निर्माणका कामहरूलाई द्रुततापूर्वक अगाडी बढाउनका लागि, भ्रष्टाचार नियन्त्रण गरेर मुलुकमा सुशासन स्थापित गर्नका लागि, मुलुकमा शान्ति कायम गर्नका लागि, विधिको शासन स्थापित गर्नका लागि र समग्रमा मुलुकमा विदेशी, देशी सबै खालका लगानीहरूको अनुकूल वातावरण निर्माण गरेर मर्यादित र बढी रोजगारीको सिर्जना गर्ने समेतका उद्देश्यले यो सरकार बनेको हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us