काठमाण्डु, २ भदौ– प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र भनेको जनताको शासन भएको बताएका छन् ।
पार्टीनिकट खेलाडीको संस्था नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले लोकतन्त्र छाडा हुन नसक्ने बताए ।
ओलीले बोलीरहँदा आपराधिक पृष्ठभूमिका गुण्डा नाइके परशुराम बस्नेत उनकै आडमा थिए ।
छाडातन्त्र र लोकतन्त्र फरक विषय भएको उनको भनाइ थियो । ‘लोकतन्त्र एउटा अनुशासित समाज हो’, उनले भने, ‘स्वतन्त्रताको हक भनेको बेलगमा र छाडा हुनु होइन ।
लोकतन्त्र छाडातन्त्र होइन ।’ ओलीले कसैको सनकका भरमा शासन सञ्चालन नहुने उल्लेख गरे । ओलीले पछिल्लो समय मुलुकका लागि कुनै योगदान नगरेकाहरुलाई सञ्जालबाट महान् बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाए ।
‘कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट महान् बनाउन खोज्ने र जसले योगदान गरेका छन् तिनीहरूलाई बदनाम गरेर सिद्ध्याउन खोज्ने प्रयास भएका छन्’, ओलीले भने । फरक प्रसंगमा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि आफ्नो नेतृत्वमा सरकार बनेको दाबी गरे ।
कसैलाई आग्रह पूर्वाग्रह राखेर फसाउने काम सरकारबाट नहुने भन्दै उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने जिकिर गरे ।