
काठमाण्डु, २ भदौ– चालु आर्थिक वर्षको पहिलो महिना घरजग्गा कारोबारमा गत वर्षको तुलनामा सुधार भएको छ । चालु आर्थिक बर्ष ०८१–८२ साउनमा घरजग्गा कारोबार र त्यसबाट प्राप्त हुने मालपोत कर (राजस्व) दुवैमा सुधार भएको हो ।
साउनमा कुल ४३ हजार ८ सय ३५ लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । गत आ व ०८०–८१ साउनमा ३९ हजार २ सय ६३ लिखत पारित भएकोमा चालु आव ११.६४ प्रतिशतले बढेको हो । गत आव अन्तिम महिना असारको तुलनामा भने साउनमा घरजग्गा कारोबार घटेको देखिन्छ ।
असारमा ४४ हजार ५ सय ६९ लिखत पारित भएको थियो । घरजग्गा लिखत पारितसँगै मालपोत कर (राजस्व) पनि बढेको छ । चालु आव साउनमा ३ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ । जुन गत आव सोही अवधिको तुलनामा ३१।७७ प्रतिशतले धेरै हो ।
साउन २०८० मा घरजग्गा कारोबारबाट २ अर्ब ९१ करोड ४ लाख बराबर राजस्व प्राप्त भएको थियो । गत वर्षको तुलनामा राजस्वमा उल्लेख्य सुधार देखिए पनि गत असारको तुलनामा भने घटेको छ । गत असारमा ५ अर्ब २ करोड ३६ लाख राजस्व संकलन भएको थियो । चालु आव मात्रै नभएर गत आवमा पनि आवको पहिलो महिनामा अघिल्लो महिनाको दाँजोमा घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्व उल्लेख्य घटेको देखिन्छ ।
असार २०८० मा ४ अर्ब २७ करोड ८३ लाख राजस्व संकलन भएकोमा साउन २०८० मा २ अर्ब ९१ करोड ४ लाख मात्रै राजस्व संकलन भएको थियो । चालु आव साउनमा प्राप्त ३ अर्ब ८३ करोड ५१ लाख राजस्वमध्ये २ अर्ब ५५ करोड १९ लाख ५१ हजार रजिस्ट्रेसन दस्तुर रहेको छ । त्यस्तै १ अर्ब ३४ करोड ६९ लाख ४९ हजार पूँजीगत लाभकर प्राप्त भएको छ ।
२६ करोड ६८ लाख ६९ हजार सेवाकर प्राप्त हुँदा ३६ करोड ७८ लाख २८ हजार राजस्व छुट दिइएको विभागको तथ्यांकमा उल्लेख गरीएको छ ।