एमाले र कांग्रेस गठबन्धनको सरकार धेरै दिन टिक्दैन: प्रभु साह

काठमाण्डु टुडे २०८१ भदौ २ गते १६:०४ मा प्रकाशित

काठमाण्डु,२ भदौ– आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कांग्रेस–एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने दाबी गरेका छन ।

आजपाको सर्लाही जिल्ला भेलालाई आज मलंगवामा सम्बोधन गर्दै अध्यक्ष साहले आम जनादेश विपरीतको सीमित नेताको स्वार्थमा बनेको कांग्रेस र एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने बताएका छन ।

उनले भने, ‘यो दुई दलीय गठबन्धन धेरै दिन टिक्दैन । यो गठबन्धन नै जनादेश विपरीतको छ । केही सीमित नेताजीको स्वार्थका लागि बनेको गठबन्धन हो । वास्तवमा यो गठबन्धन होइन ठगबन्धन हो’ साहले भने, ‘जनादेश विपरीत, सीमित नेताको स्वार्थका लागि बनेको यो दुई दलीय गठबन्धन आम जनताको चाहनामा बनेको होइन ।

केही सीमित नेताको स्वार्थका लागि बनेको दुई दलीय गठबन्धनको सरकार धेरै दिन टिक्दैटिक्दैन ।’ भ्रष्ट नेताहरूको अन्त्य र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको विकल्प नभएको बताउँदै उनले दलाल दलतन्त्र विरुद्धको जनआन्दोलनको तयारीमा जुट्न आह्वान गरेका छन ।

उनले भने, ‘भ्रष्ट नेताहरू मालामाल भएका छन्, आम जनता लाचार छन् । काण्डैकाण्डले देश बदनाम छ । युवाहरू विदेशमा मर्नुपर्ने स्थितिको अन्त्यका लागि तेस्रो जनआन्दोलनको विकल्प छैन’ साहले भने, ‘भ्रष्टाचारीहरू अहिले सम्मानित भइरहेका छन् तर स्वाभिमानी युवाहरू अपमानित हुनुपर्ने, विदेशमा मर्नुपर्ने अवस्थाको अन्त्य हुनैपर्छ ।

राज्यले नै भ्रष्टाचारीलाई जोगाउने सम्मान गर्ने कामले देश कंगाल बन्दै गइरहेको छ । आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि युवाहरू उठनैपर्छ ।’ उनले देशमा लोकतन्त्र कमजोर भएको बताउँदै उनले दलाल दलतन्त्रका कारण अहिले युवाहरू देशमै रोजगार नपाउने अवस्था आएको बताएका छन ।

लडेर ल्याइएको लोकतन्त्र दलाल, भ्रष्ट नेताहरूले मास्न लागेको आरोप लगाउँदै साहले भने, ‘लोकतन्त्रलाई पार्टीका नेताहरूले मिलेर मासे र दलतन्त्र ल्याए । आज दुई दल मिलेर त्यही दलतन्त्र मास्न लागिरहेका छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us