परराष्ट्रमन्त्री देउवा दिल्ली प्रस्थान

काठमाण्डु टुडे २०८१ भदौ २ गते १४:३२ मा प्रकाशित

काठमाण्डु,२ भदौ– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेकी छन । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उनी आइतबार दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा उनका भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता हुने कार्यक्रम तय भएको पनि उनको सचिवालयले जानकारी दिएको छ ।

दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुने भएको छ । मन्त्री डा. राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए । मन्त्री डा. राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना पनि सहभागी छन् ।

परराष्ट्रमन्त्री डा. राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कने उनको सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us