कांग्रेसका मन्त्रीले महिनामा दुईपटक पार्टीसँग बैठक गर्ने

काठमाण्डु टुडे २०८१ भदौ २ गते १२:५३ मा प्रकाशित

काठमाण्डु, २ भदौ– कांग्रेसबाट मन्त्री बनेकाहरुसँग महिनाको दुईपटक पार्टीसँग छलफल गर्ने भएको छ । दुई राज्यमन्त्री सहित कांग्रेसका १२ मन्त्री रहेका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेस सहभागी भएपछि शनिबार पहिलोपटक पार्टीबाट मन्त्री बनेकाहरुसँग छलफल गरिएको छ ।

पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार साँझ ५ बजेदेखि राति १० बजेसम्म छलफल भएको थियो । बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा पनि पार्टीबाट सहभागी थिए । देउवा निवासमा कांग्रेसबाट मन्त्री र राज्यमन्त्री सबै पुगेका थिए ।

पार्टी र मन्त्रीहरुको समन्वय बढाउनका लागि छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन । ती मन्त्रीले भने, ‘मन्त्रीले गर्ने कार्य पार्टीसँग समन्वय नगरी भइरहेको बेला बेलामा कुरा उठ्दै आएको हो, ‘पार्टीसँग समन्वय गरेर प्रभावकारी कार्य गर्ने विषयमा कुरा भयो ।’

हरेक १५ दिनमा एकपटक पार्टी र मन्त्रीको छलफल गर्ने निर्णय भएको उनले जानकारी दिएका छन । कांग्रेसबाट मन्त्री हुनेहरुमा उपप्रधानसहित सहरी विकास प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन् ।

दुई राज्यमन्त्रीमा रुपा विक र पूर्णबहादुर तामाङ छन् । विकले वन तथा वातावरण र तामाङले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी प्रप्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us