पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढिसक्यो: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ भदौ २ गते १२:३२ मा प्रकाशित

काठमाण्डु, २ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माणबारे स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल भएको बताएका छन ।

अध्यक्ष प्रचण्डले पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढिसकिएको समेत जानकारी दिएका छन । वि.सं २०५१ सालमा शहीद भएका तात्कालीन एकता केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्ने पनि बताएका छन । अध्यक्ष प्रचण्डले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताएका छन ।

उनले भने, ‘जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन्। जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको बिकल्प छैन। मैले सदन र सडकबाट संघर्षको बिकल्प देखेको छैन ।

हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ। यो अपवित्र छ, यसको उद्देश्य गलत छ। पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ ।’

उनले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको समेत बताएका छन । कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणाात्मक योगदान रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us