काठमाण्डु, २ भदौ– पछिल्लो २४ घण्टामा दैलेख र रूपन्देहीमा अति भारी वर्षा मापन भएको छ ।
दैलेखको काटी तथा रूपन्देहीको भैरहवा र लुम्बिनी क्षेत्रमा अति भारी वर्षात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
दैलेखमा १ सय १०.२ मिलिमिटर, भैरहवामा १ सय ८४ मिलिमिटर र लुम्बिनीमा १ सय ५३.६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै दाङको लालमतियामा १ सय १६ मिलिमिटर र गोरखाको आरूघाटमा १०८.८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
यस्तै मकवानपुरको रजैया केन्द्रमा ९२.४ मिलिमिटर, नुवाकोटको ककनीमा ९२.४ मिलिमिटर, सदरमुकाम विदुरमा ९० मिलिमिटर र काठमाण्डुको बुढानीलकण्ठमा ६७ मिलिमिटर वर्षा मापन भएको छ ।
विभागले रौतहट, पर्सा, सिन्धुली, खोटाङ, स्याङ्जा, गुल्मी, अर्घाखाँची, प्युठान, बाँके, बर्दिया लगायत जिल्लामा पनि धेरै पानी परेको जनाएको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा र राति मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।