मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १ गते १६:१७ मा प्रकाशित

कैलाली, १ भदौ– कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलारी गाउँपालिका–२ बस्ने पैदल यात्री ५५ वर्षीया पार्वती चौधरी रहकी प्रहरीले जानकारी दिएको छ ।

बिहीबार कैलारी गाउँपालिका–५ बैजपुर नजिक हुलाकी सडक खण्डमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । चौधरी मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–७ बस्ने ४० वर्षीय हरिप्रसाद चौधरी घाइते भएका पनि प्रहरीले जानकारी दिएको छ । घाइते चौधरीको निसर्ग अस्पताल धनगढीमै उपचार भइरहेको छ ।

मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us