सोलुखुम्बुको बाढी क्षेत्रमा राहत र उद्दारमा कमी हुन नदिन प्रचण्डको आग्रह

काठमाण्डु टुडे २०८१ भदौ १ गते १५:४८ मा प्रकाशित

काठमाण्डु, १ भदौ– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुको बाढी क्षेत्रमा राहत र उद्दारमा कमी हुन नदिन सरकारलाई आग्रह गरेका छन् ।

आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारलाई यस्तो आग्रह गरेका हुन् । शुक्रबार सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढीले १ दर्जन बढी घर बगाएको थियो ।

प्रचण्डले भनेका छन्, ‘नेपाल सरकारलाई उद्दार र राहतमा कमी हुन नदिन आग्रह गर्दै विश्व समुदायलाई जलवायु जोखिमबाट नेपाललाई सुरक्षित गर्न अन्तर्राष्ट्रिय सहयोगको दायरा गुणात्मक रूपले बढाउन पुनः अपील गर्दछु।’ उनले जलवायु परिवर्तनको नकारात्मक असरले गर्दा पर्वतीय देशहरूको मानवीय जीवन बहुआयमिक जोखिममा पर्दै गएको समेत बताएका छन् ।

उनले भनेका छन्– ‘हिमाल पग्लिने क्रम जारी छ, हिमताल फुटिरहेका छन्, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले तटीय क्षेत्रमा जनधनको ठूलो क्षति भइरहेको छ।’

आफूले राष्ट्रसंघको महासभादेखि कोप–२८ मा समेत जलवायु न्यायको कुरा गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले नेपालजस्ता देशहरूले नगरेको गल्तीको सजाय भोगिरहेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us