काठमाण्डु, १ भदौ– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउन बनेको दाबी गरेका छन । आज शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन ।
उनले आफूहरु बेदाग भएर सरकारबाट निस्किएको समेत बताए । उनले इतिहासले दिएको जिम्मेवारी पूरा गर्नु आफूहरुका लागि महत्वपूर्ण रहेको पनि बताएका छन ।
उनले इतिहासले सुम्पिएको जिम्मेवारी भनेको पार्टीलाई एकतावद्ध, सुदृढ गर्ने रहेको बताए । पार्टीको नेतृत्वलाई बलियो बनाएर, नेतृत्वको वरिपरी गोलबन्दी हुनुपर्ने समेत उनको भनाई छ ।
पार्टीको वैचारिक कार्यदिशा एकरुप समझदारीसाथ ग्रहण गर्ने र विचारलाई अझ विकास गर्ने दिशामा जान आवश्यक रहेको बताएका छन । उनले भने, ‘हामी बेदाग भएर सरकारबाट निस्किएका छौँ ।
अहिले सरकार बनाउनेहरुको बारेमा आम चर्चा छँदैछ । हामीले भन्नु पनि पर्दैन । भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउनको निम्ति यो सरकार बनेको छ भनेर आम चर्चा छ ।
इतिहासले हामीलाई अहिले सुम्पिएको जिम्मेवारी ग्रहण गर्दै त्यसको सम्पादन, त्यो कार्यभार पूरा गर्नुपर्ने आजको आवश्यकता छ । हामीलाई इतिहासले सुम्पिएको जिम्मेवारी भनेको पार्टीलाई एकतावद्ध, सुदृढ गर्ने हो ।
हाम्रो पार्टीको नेतृत्वलाई बलियो बनाएर, नेतृत्वको वरिपरी गोलबन्दी हुने हो । पार्टीको वैचारिक कार्यदिशा एकरुप समझदारीसाथ ग्रहण गर्ने र विचारलाई अझ विकास गर्ने दिशामा जाने हो ।’