धर्मको आडमा अपराध कर्ममा संलग्न भण्डारी कसरी भए विजय कृष्णमुर्ति ?, पक्राउ गर्न खोज्दा प्रहरीमाथि हुलहुज्जत

काठमाण्डु टुडे २०८१ भदौ १ गते ९:०६ मा प्रकाशित

काठमाण्डु, १ भदौ–प्रहरीले पशुपति मन्दिर परिसरमा कोटिहोम आयोजना गर्ने विजय भण्डारी उर्फ विजय कृष्णमुर्तिलाई पक्राउ गर्ने प्रयास गरेको छ ।

विवादित पृष्ठभूमिका भण्डारीले एक महिना पुशपतिमा कोटिहोम लगाएका थिए । समापनपछि शुक्रबार राति प्रहरी टोली उनलाई पक्रन पशुपति परिसर पुगेको थियो ।

तर, उनका समर्थकले प्रतिकार गरेपछि प्रहरी त्यसै फर्कियो । भण्डारी समर्थकले पशुपति क्षेत्रमा केहीबेर हुलहुज्जत नै गरे ।

पक्राउ गर्दा अप्रिय अवस्था आउन सक्ने अनुमानसहित प्रहरी पछि हट्यो । काठमाण्डु प्रहरी परिसरका एसएसी वसन्त रजौरेले पक्राउ गर्न नभई सोधपुछका लागि भण्डारीलाई लिन गएको प्रतिक्रिया दिए ।

‘पक्राउ गर्न भन्दा पनि केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले प्रहरी उहाँलाई लिन गएको थियो’, उनले भने । भण्डारीले विगतमा प्रहरी कार्यालयबाट लिएको चारित्रिक प्रमाणपत्रबारे सोध्न चाहेको प्रहरीका एक अधिकृतले बताए ।

भण्डारी ठगी मुद्धामा जेल बसेर रिहा भएका हुन् । तर, आपराधिक पृष्ठभूमिका उनले कसरी चारित्रिक प्रमाणपत्र लिन सफल भए भन्ने विषयमा प्रहरीको छानबिन जारी छ ।
भण्डारीले कोटिहोममा नेपालमा बंगलादेशको अवस्था आउन सक्ने भन्दै राजनीतिक भाषणबाजी गरेका थिए । यस्तै उनले पशुपति क्षेत्र रणमैदानमा परिणत हुन सक्ने धम्की दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us