टीआरसी टुंगिन लागेकोमा अमेरिकाले नेपाललाई दियो बधाइ

काठमाण्डु टुडे २०८१ साउन ३२ गते १५:१० मा प्रकाशित

काठमाण्डु, ३२ साउन– नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेको भन्दै संयुक्त राज्य अमेरिकाले बधाइ दिएको छ । माओवादी सशस्त्र युद्ध क्रममा निरुपण हुन बाँकी युद्धकालीन घटनाका लागि आयोग बनाउनेबारे दलहरुले न्याय निरुपण प्रक्रियामा सहमति गर्दै केही दिनअघि संसदबाट विधेयकसमेत पारित भएको पृष्ठभूमिमा अमेरिकाले नेपाललाई बधाइ दिएको हो ।

नेपाल भ्रमण क्रममा अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेट्दै बधाई ज्ञापन गरेका हुन् ।

‘बर्माले नेपाली राजनीतिक नेतृत्वले संक्रमणकालीन न्याय टुंगो पुग्न लागेकामा बधाई दिनुभयो, उहाँले पीडितहरुको लागि वास्तविक पहल भएको अपेक्षासमेत राख्नुभएको छ ।’

प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो । उपमन्त्री बर्माले नेपाल र अमेरिकाबीच ७७ वर्षदेखिको सम्बन्धको सम्झना गर्दै नेपालको विकासमा आफ्नो देश साझेदार हुन पाएकोमा खुसी समेत व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि आभार व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us