सय जना कामदार पठाउन नसक्ने मेनपावर व्यवसायीको नवीकरण गर्ने सरकारको निर्णय

काठमाण्डु टुडे २०८१ साउन ३२ गते १३:२८ मा प्रकाशित

काठमाण्डु, ३२ साउन– सरकारले दुई वर्षसम्ममा पनि वार्षिक १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर व्यवसायीको नवीकरण गर्ने निर्णय गरेको छ ।

हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले  यस्तो  निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन । बैठकले बाधा अड्काउ फुकाउ मार्फत उनीहरूको नवीकरण गर्ने निर्णय गरेको हो ।

अवस्था हेरेर उनीहरूको नवीकरण गर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जानकारी दिएका छन । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा बोल्दै उनीहरूको नवीकरण गर्ने निर्णय गरेको जानकारी दिएका हुन ।

यसअघि गत वर्ष अन्तिम पटकको लागि भनेर बाधा अड्काउ मार्फत नै नवीकरण गर्ने निर्णय गरेको थियो । अन्तिम पटक भनिएकोमा यो पटक समेत मन्त्रिपरिषद् बैठकले नवीकरण गर्ने निर्णय गरेको हो ।

यो पटक भने नवीकरण गर्दा उनीहरूमाथि आवश्यक अनुसन्धान गरेर मात्रै गरिने मन्त्री भण्डारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us