यी ५ जिल्लामा भारी वर्षा

काठमाण्डु टुडे २०८१ साउन ३२ गते १०:२५ मा प्रकाशित

काठमाण्डु,३२ साउन– गुल्मी र जाजरकोटमा भारी वर्षा मापन भएको छ ।

गुल्मी, पर्वत, बागलुङ, जाजरकोट र म्याग्दीलगायत जिल्लाका केही स्थानमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागलुङको गलकोटमा पछिल्लो १२ घन्टामा ८३.४ मिलिमिटर र गुल्मीको मुसिकोटमा ८४.४ मिलिमिटर वर्षा भएको छ । यस्तै म्याग्दीको मुनामा ६९.२, पर्वतको पन्चासेमा ६४.६ मिलिमिटर वर्षा मापन भएको विभागको भनाइ छ ।

मनसुनी वायुको प्रभावका कारण आज पनि देशका विभिन्न स्थानमा वर्षात हुने विभागले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास छ । शुक्रबार बिहानदेखि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षात भइरहेको छ ।

बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। विभागका अनुसार शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
राति देशभर साधारणतया बदली रहने छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

नेपाल बाढी सूचना केन्द्रले यी स्थान भई बग्ने खोलाको जल सतह बढ्ने भएकाले सतर्क रहन भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us