काठमाण्डू, ३१ साउन- भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्ति पुरुष रहेको खुलेको छ । भक्तपुर प्रहरी परिसरका डिएसपी राजन कार्कीले मृतक अन्दाजी ४०/४५ वर्षका पुरुष रहेको बताए । मृतकको सनाखत हुन बाँकी छ । घटनास्थल स्थलमा भेटिएको स्कुटरको बिलबुकमा सवारी धनीको नाम उत्तम कोइराला लेखिएको छ । कोइरालाको ठेगाना ओखलढुंगा उल्लेख छ । मृतक कोइराला नै हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ। प्रहरीले यसअघि मृतक २३ वर्षीया युवती रहेको बताएको थियो । तर मृतक भनिएकी युवती प्रहरीमा उपस्थित भएर आफूबारे ग़लत हल्ला चलाइएको भन्दै आपत्ति जनाइन् ।
बिहीबार दिउँसो १:४० बजे कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना६ख २१७३ नम्बरको ट्रकले सोही दिशामा रहेको बा४९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटर चालकको तत्काल घटनास्थलमै मृत्यु भएको थियो ।
डिएसपी कार्कीका अनुसार घटनापछि फरार ट्रक चालक सर्लाहीका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ पक्राउ परेका छन् ।