काठमाण्डू, ३१ साउन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुट्ने कुरा निराधार रहेको बताएका छन् ।
पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको बताए । उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउन खोजेको भन्ने हल्ला फिँजाइएको भन्दै उनले त्यसमा सत्यता नभएको बताए ।
‘पार्टी फुट्ने कुरा बिल्कुलै निराधार हो। पार्टी फुट्छ भनेर केही समयदेखि भनिरहेका छन् । होहल्ला, प्रचार धेरै भयो । कतिपय सन्दर्भमा आशंका र भ्रम भए । यो बैठकसम्म आउँदा ती सबै भ्रम चिरिएका छन्,’ उनले भने, ‘खासगरी प्रभाकरले पार्टी फुटाउँछ भनेको जस्तो जो माहोल बनेको छ । त्यो बिल्कुलै गलत हो । हाम्रो पार्टी एकतावद्ध भएको छ र प्रभाकर लगायतसँग जे आशंका गरिएको छ, गलत छ।’
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पीडित केन्द्रित, पीडितमैत्री बनाउने सम्पूर्ण प्रयास गरिएको र यसले पीडितहरुको मागलाई, चाहनालाई राम्रोसँग सम्बोधन गरेको उनले बताए । (न्युज एजेन्सी नेपाल)