भक्तपुर, ३१ साउन– बिहीबार भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भयो । प्रहरीले दुर्घटनामा परी ज्यान गुमाउने दोलखा मेलुङ गाउँपालिका–४ घर की २३ वर्षीया सुष्मा नेपाली भएको बतायो ।
दिनभर जसो सबै सञ्चार माध्यममा सुष्माको मृत्यु भएका खबरहरु प्रसारित भए । तर, जब दुर्घटनामा मृत्यु भएकी भनिएकी सुष्मा प्रहरी कार्यालय पुगिन् तब प्रहरी नै चकित भए । सुष्मा जिवितै प्रहरीमा उपस्थित भएपछि प्रहरीले मृतकको सनाखत हुन नसकेको बताएको छ । भक्तपुर प्रहरी परिसरका डिएसपी राजन कार्कीले शवको पहिचान खुल्न बाँकी रहेको बताए ।
एक युवकले शव सुष्माको भएको बताएपछि त्यसैका आधारमा हवाला दिँदा प्रहरी झुक्किएको छ । प्रहरी चेकिङमा रोकिएको बा४९प ८९४४ नम्बरको स्कुटरलाई ना६ख २१७३ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।
दुवै सवारी साधन कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । ठक्करबाट युवतीको घटनास्थलमै मृत्यु भएको थियो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताद महाराजगञ्ज पठाइएको र घटनापछि फरार ट्रक चालकको खोजी जारी रहेको डिएसपी कार्कीले बताए ।
दुर्घटनापछि गठ्ठाघर क्षेत्र बिहीबार दिनभरजसो तनावग्रस्त बन्यो । प्रहरी र प्रदर्शनकारीबीच पटकपटक झडप भयो । प्रहरीले प्रदर्शन तितरवितर पार्न अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।