बेचन विरुद्धको मुद्दामा आज थुनछेक बहस

काठमाण्डु टुडे २०८१ साउन ३१ गते ८:२५ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– आज (बिहिबार)बाट नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा उपर लागेका आरोपमाथि थुनछेक बहस सुरु हुँदै छ ।

थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश आउने छ । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गराएको थियो ।

प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत काठमाण्डुमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो ।

अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् ।

सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।

अनुसन्धानका क्रममा अर्का आरोपी रामशरण केसीले झाको नाममा काटिदिएको दुई करोड रुपैयाँको चेक पनि प्रहरीले बरामद गरेको थियो । बेचनले त्यसबारे पनि आफूलाई थाहा नभएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us