दलहरुले पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो: राजेन्द्र लिङ्देन

काठमाण्डु टुडे २०८१ साउन ३० गते १६:५५ मा प्रकाशित

काठमाण्डु, ३० साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन योगदान गरेका पूर्वराजालाई दलहरुले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका छन ।

राजा भनेर सम्बोधन गरेका उनले कसैको नाम त लिएनन्, तर पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ संकेत गरेका हुन । आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा टीआरसी विधेयकमाथि भएको छलफलमा भाग लिएका अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन ।

उनले हिंसात्मक द्वन्द्व हारजितमा नभई सम्झौताबाट टुंगिएको पनि बताएका छन । उनले सम्झौताको एउटा पक्ष तत्कालीन राजा पनि भएको भन्दै उनले भने, ‘तपाईहरुले आज राजालाई सम्झिनुपर्थ्यो ।

जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न ।’ उनले आ–आफ्नो राजनीतिक दर्शन तथा मान्यताहरु हुने भन्दै उनले भने, ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने राजाको योगदान छैन ?

दलहरुले त राजालाई शान्ति प्रक्रियामा योगदान पुर्‍याए वापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो ।’ आफूले बहुमत पाउनेबित्तिकै सबै बिर्सिएर अगाडि बढ्दा दुर्घटना हुने लिङ्देनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us