काठमाण्डु, ३० साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपय नेताहरूले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै प्रतिनिधि सभाको असन्तुष्टि व्यक्त गरेका छन ।
आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा टीआरसी विधेयकमाथि भएको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले अहिले पनि नेताहरूले बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन । उनले भने, ‘माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जात नै जाला जस्तो गर्नुहुन्छ ।’
उनले संविधानसभाबाट बनेको संविधानको अनुसूचीमै जनयुद्ध शब्द लेखिएको उल्लेख गर्दै नेताहरूको ध्यानाकर्षण गराए । ‘यदि जनयुद्ध ध्वंसात्मक मात्र हुन्थ्यो, गैरराजनीतिक र वैचारिक हुन्थ्यो भने संसारकै मोडल शान्ति प्रक्रिया भनेर आज जे भनिराखेका छौँ, त्यो सम्भव हुने थिएन’, प्रचण्डको भनाइ छ ।