काठमाण्डु, ३० साउन– आज बुधबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिदै छन । मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् भने एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी र एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा मतदान गर्न भन्दै ह्विप जारी गरेका छन ।
तर हालै सत्ताबाट बहिर्गमन भएको एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । पूर्व आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सरकारको विपक्षमा मत नहाल्ने जानकारी दिएका छन ।
सुदूरपश्चिममा समाजवादीका चार जना प्रदेशसभा सदस्य छन् । साउन २० गते मुख्यमन्त्रीमा नियुक्त शाहलाई कांग्रेसका १८ र एमालेका ७ जना प्रदेशसभा सदस्यसँगै नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने भएको छ ।
यहाँ नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा सदस्य छन् । बहुमतको सरकारको लागि यहाँ २७ सिट सङ्ख्या चाहिन्छ । यहाँ कांग्रेस र एमालेको मात्रै २९ पुग्ने भएको छ । समाजवादीसँग नेकपा माओवादी केन्द्र पनि विपक्षमा मतदान गर्ने भएको हो ।