काठमाण्डु विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाण्डु टुडे २०८१ साउन ३० गते १४:०९ मा प्रकाशित

काठमाण्डु, ३० साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डु विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न आग्रह गरेका छन ।

आज आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको काठमाण्डु विश्वविद्यालयको ९७ औँ सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन ।

उनले विश्वविद्यालय र अस्पतालबिचको बेमेल आपसमा बसेर समाधान गर्न निर्देशन दिएका छन । धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबिच विवाद र अन्योल उत्पन्न भएको थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘विश्वविद्यालयले तत्कालै नयाँ अस्पताल खोल्न र त्यसका लागि सरकारले लगानी गर्न नसक्ने भएकाले धुलिखेल अस्पतालसँगको सम्बन्ध र सहकार्यलाई कम्तीमा पाँच राखिनुपर्छ ।

त्यस अवधिभित्र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने गरी तयारी गर्नेछ । यीलगायत नीतिगत विषयमा आगामी भदौभित्र विश्वविद्यालयको अर्को सिनेट बैठक गरेर निर्णय गरिनेछ । त्यही बैठकमा अन्य चुनौती र कठिनाइका विषयवस्तुलाई पनि छलफलमा राखिनेछ ।’

सभामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले विश्वविद्यालयले अस्पतालसँगको सम्बन्ध एकाएक तोड्न नमिल्ने विचार राखेपछि प्रधानमन्त्री ओलीले यस विषयमा उपकुलपति डा भोला थापालाई स्पष्ट पार्न समय दिएका थिए ।

पूर्व उपकुलपति डा. सुरेशराज शर्मासहितको राय लिएर कुलपति ओलीले हाल दुवै संस्थाको सम्बन्ध कायम राख्न आवश्यक ठानेका हुन्। प्रधानमन्त्री ओलीले सिट क्षमता अनुसार विश्वविद्यालयमा विद्यार्थी भर्ना हुने अवस्था ल्याउन पनि सुझाव दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us