सहमतिका साथ आयोगहरू निर्माण हुनेछन्: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ साउन ३० गते १३:५२ मा प्रकाशित

काठमाण्डु, ३० साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित टीआरसी विधेयक सहमतिका साथ अघि बढेर कानुन निर्माणको प्रक्रियामा पुगेको भन्दै खुसी व्यक्त गरेका छन ।

आज बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधनको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले केही खुसी र केही स्पष्ट पार्न आफूले संसदमा आज समय मागेको बताएका छन ।

उनले देशमा रहेको द्वन्द्व नेपालको मौलिकता अनुसार नै दलहरूले प्रयास गरेको र सोही अनुसार अघि बढेको भन्दै शान्ति प्रक्रियाको एक अंश टीआरसी विधेयक पनि सहमतिमै अघि बढेको पनि बताएका छन ।

उनले भने, ‘हामी द्वन्द्वलाई शान्ति प्रक्रियामा बदल्न आफ्नै हिसाबले अगाडि बढायौँ । यो मौलिक छ । त्यही कारण सकारात्मक ढङ्गले समाधान हुँदै आएको छ’, ओलीले भने, ‘दुनियाँका लागि नमुनाका रूपमा शान्ति प्रक्रिया टुंग्याउँदैछौँ ।’

द्वन्द्वको नीति बोकेका अनेक समूहलाई शान्ति र लोकतन्त्रको राष्ट्रिय मूलधारमा ल्याइसकेको भन्दै उनले अहिले टीआरसीलाई टुंग्याउने प्रयास गरिएको पनि बताएका छन ।

पीडित मैत्री र सहमतिका साथ टीआरसी विधेयकको दस्ताबेज अघि बढाएको र यो विधेयक आजै प्रतिनिधिसभाले पास गर्ने र केही दिनभित्र राष्ट्रिय सभाले पनि पास गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।

‘यो शान्तिका पक्षधरका लागि खुसीको विषय हो’, उनले भने, ‘ऐन बनिसकेपछि यस अन्तर्गत आयोगहरू निर्माण गर्नेछौ र आयोगलाई काम गर्न अनुकूल वातावरण बन्नेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us