चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिन नपाउने विद्यार्थीको पैसा फिर्ता हुने

काठमाण्डु टुडे २०८१ साउन ३० गते १२:४५ मा प्रकाशित

काठमाण्डु, ३० साउन– चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा दिन नपाउने विद्यार्थीहरूको पैसा फिर्ता गर्ने भएको छ । कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फाराम भरेको र नतिजामा नन ग्रेडेड (एनजी) आएका विद्यार्थीहरूले तिरेको शुल्क फिर्ता गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा आयोगले एनजी आएर आयोगको परीक्षा दिन नपाउने विद्यार्थीले तिरेको आवेदन शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो ।

सोही आधारमा आयोगले एनजी आएर प्रवेश परीक्षा दिनबाट वञ्चित हुने विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्न लागेको आयोगका सदस्य–सचिव कृष्ण काप्रीले जानकारी दिए ।

भदौ १ गतेदेखि आयोगले दिने एकीकृत प्रवेश परीक्षा हुँदैछ । त्यसका लागि गत जेठ २८ गते नै सूचना जारी गरेको परीक्षाका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा ५१ हजार ७०० विद्यार्थीले आवेदन फारम भरेका थिए । तीमध्ये दुई हजारभन्दा बढी विद्यार्थीको कक्षा १२ को नतिजा एनजी आएको देखिएको थियो ।

नतिजा एनजी आएका विद्यार्थीहरूले प्रवेश परीक्षा दिन नपाउने आयोगले जनाएको छ । त्यस्तै पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीहरूले समेत उक्त परीक्षा दिन नपाउने देखिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले पुनर्योगको नतिजा प्रकाशनमा ढिलाइ गर्दा उनीहरू यो अवसरबाट वञ्चित हुन लागेका हुन् । बोर्डले साउन १८ गते कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो ।

त्यसपछि नतिजा एनजी आएका र आयोगको फाराम भरेका विद्यार्थीहरू अन्योलमा परेका थिए । आयोगले समेत उनीहरूले परीक्षा दिन नपाउने भएपछि तिरेको शुल्क के गर्ने भन्ने विषयमा निर्णय गर्न सकेको थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us