प्रतिनिधिसभा बैठकको कार्यसूची हेरफेर

काठमाण्डु टुडे २०८१ साउन २९ गते १३:०६ मा प्रकाशित

काठमाण्डु, २९ साउन– सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकको कार्यसूची हेरफेर भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ ।

प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने विषय पनि आजको कार्यसूचीमा थपिएको छ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ ।

साथै कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us