१८ राजदूतको सुनुवाइ भोलिदेखि सुरु हुने

काठमाण्डु टुडे २०८१ साउन २८ गते १४:३३ मा प्रकाशित

काठमाण्डु, २८ साउन– १८ देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया भोलि (मङ्गलवार) देखि सुरु हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिएका छन । सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सिफारिस भएका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवारदेखि सुरु हुने सुनुवाइ समितिले जनाएको छ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन रहेको शङ्कर हलमा १२ः १५ मा सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकले प्रस्तावित राजदूतमाथि उजुरी आह्वान गर्नेछ। प्राप्त उजुरीमाथि छलफल भएपछि राजदूतहरूको सुनुवाइको मिति तोकिनेछ ।

सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी थिइन् ।

त्यस्तै भारतका लागि राजदूत सिफारिस भएका शङ्कर शर्माको पनि पुनः सुनुवाइ हुने भएको छ। प्रस्तावित १८ राजदूतको सूची आइतबार समितिमा सुनुवाइका लागि पुगेको थियो ।

त्यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूतमा सिफारिस भएका छन् । उनीहरूमाथि उजुरी मागेपछि समितिमा उजुरी दर्ता हुनेछ ।

उक्त उजुरीको आधारमा समितिले सुनुवाइ गर्नेछ। गम्भीर उजुरी परेमा उनीहरूलाई अस्वीकार पनि गर्न सक्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै उनीहरू नियुक्ति हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us