काठमाण्डु, २८ साउन– पूर्व प्रधानमन्त्री एवं तत्कालीन कांग्रेसका सभापति सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
वि.सं १९९७ साउन २८ गते जन्मनुभएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका थिए ।
संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । फलःस्वरुप नेपाली जनताको २००७ सालदेखिको चाहनाबमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्वर्गीय नेता कोइरालाको कार्यकालमा पूरा भयो ।
उहाँले सधैँ सत्यको वकालतका साथै सादगी जीवनयापन गरे । जनचाहनाबमोजिम संविधानसभाबाट संविधान जारी गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री कोइराला जीवनको अन्तिम क्षणसम्म पनि संविधानको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशील रहेका थिए ।
मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समय र कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गर्नुभएका कारण नेपाली राजनीतिमा सादगी नेताका रूपमा परिचय स्थापित छ ।
राजनीतिमा निष्ठा, इमानदारिता र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न उनको योगदान महत्त्वपूर्ण छ । स्वर्गीय नेता कोइरालाको स्मरणमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज मुलुकभर विभिन्न कार्यक्रम गरिनेछ ।
संविधानको सफल कार्यान्वयन भएर लोकतान्त्रिक पद्धतिलाई सबल र सुदृढ बनाउन सके नेता कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने सुशील कोइराला मेमोरियल फाउन्डेसनका अध्यक्ष एवं कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले जानकारी दिएका छन ।