काठमाण्डु, २७ साउन– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सबै विधाका नेपाली राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गराइने बताएका छन् ।
पौडेलले मन्त्रालयको प्राथमिकता र वार्षिक कार्ययोजना सार्वजनिक गर्दै आइतबार शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सबै राष्ट्रिय खेलाडीको वार्षिक स्वास्थ्य परीक्षण निःशुल्क गरिने घोषणा गरे । यस्तै शिक्षक र स्थानीय तहका कर्मचारीलाई बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा समान स्तरको सुविधा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।
पौडेलले स्थानीय तह र प्रदेश सरकारहरूसँगको समन्वयमा पूर्वाधार, जनशक्ति र उपकरणको व्यवस्थापन गर्न एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना लागू गरिने बताए ।
स्वास्थ्य जनशक्तिको हालको अवस्था विश्लेषण गरी आवश्यकता र कार्यदक्षताअनुसार विद्यमान जनशक्तिको समुचित व्यवस्थान र पुनर्वितरण गरिने उनको भनाइ थियो ।
नेपालबाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आवद्ध गर्ने प्रबन्ध मिलाइने योजना पनि उनले अघि सारेका छन् ।
सबै प्रकारका स्वास्थ्य संस्थामा २४ घन्टा इमर्जेन्सी, ओपिडी, अन्तरंग, भिडियो एक्सरे, फार्मेसी, ल्याब, प्रसुति सेवा सञ्चालनमा ल्याइने पत्रकार सम्मेलनमा मन्त्री पौडेलले जानकारी दिए ।
मन्त्री पौडेलले विगतमा भएका अध्ययनलाई पुनरावलोकन गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगसँगको समन्वयमा १ सय सय्यभन्दा माथिका सरकारी अस्पतालहरुमा नर्सिङ र ३ सय सय्याभन्दा माथिका सरकारी अस्पतालहरुमा स्नातक र स्नातकोत्तर तहका विषयहरु अध्ययन अध्यापन गराउने विषयमा अघि बढिने जानकारी उनले दिए