काठमाण्डु, २७ साउन– सेयर बजारमा हुने दैनिक कारोबार रकममा फेरि एकपटक नयाँ रेकर्ड कायम भएको छ । यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेकोमा त्यो रेकर्ड समेत तोडिएको छ ।
साताको सुरुको कारोबारको दिन आज आइतबार २५ अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार भएको छ। कारोबार मात्रै होइन सेयर बजार परिसूचक ३० महिनाकै उच्च विन्दुमा आइपुगेको छ ।
नेप्सेले २८ सयको मनोवैज्ञानिक प्रतिरोध पार गरेसँगै ३० महिनाकै उच्च विन्दुमा आइपुगेको हो। नेप्से एकैदिन ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा आइपुगेको हो । यसअघि नेप्से २०७८ माघ २० गते २८७६.७४ विन्दुमा थियो । गत सातादेखि नेप्सेले २८ सयमा कडा प्रतिरोध पाइरहेको थियो । यो प्रतिरोध पार गरेसँगै बजार थप बढ्ने लगानीकर्ताहरूको अनुमान रहेको छ ।
यसदिन ३३० वटा धितोपत्रको छ करोड तीन लाख २१ हजार ३२३ कित्ता सेयर किनबेच भएको हो । आइतबार २२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटाको घटेको छ ।
यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन नौ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेशनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, हाइड्रोइलेन्ट्रिसिटी एण्ड डेभलपमेन्ट, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत, अपर तामाकोशी हाइड्रोपावर, शुभम् पावर, आत्मनिर्भर लघुवित्त र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।
यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ४५३ रूपैयाँ ४० पैसामा झरेको छ । सिटिजन सुपर ३० म्युचुअल फण्डको मूल्य ७.५४ प्रतिशतले घटेको छ। उक्त योजनाको प्रति इकाइ मूल्य ९ रूपैयाँ ९३ पैसा कायम भएको छ। आइतबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।