अझै खुलेन एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको पहिचान

काठमाण्डु टुडे २०८१ साउन २७ गते १४:२३ मा प्रकाशित

काठमाण्डु, २७ साउन– गत बुधबार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको पहिचान अझै खुल्न सकेको छैन । दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट तथ्य संकलनमा ढिलाई भएपछि पहिचान खुल्न नसकेको बताइएको छ ।

चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव पहिचानका लागि अझै तथ्याङ्क संकलनको काम भइरहेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले जानकारी दिएका छन । उनले भने, ‘परिवारका आफन्तबाट मृतकको हुलियाको तथ्यांक संकलन भइरहेको छ,’ उनले भने, ‘तर पूर्णरुपमा तथ्यांक प्रप्त हुन सकेको छैन, शव सुरक्षित राखेको छौँ ।’

मृतकको शवको पहिचान डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट (पोस्टमार्टम) पहिचान गरिन्छ । आफन्तबाट मृतकको पहिचान विवरण संकलन हुन नसकेको उनले जानकारी दिएका छन ।

डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका सङ्केतहरू (खत, ट्याटु आदि), पहिरन, गहना लगायत हेरिने विभाग प्रमुख डा.चौधरीले जानकारी दिएका छन ।

गत २३ गते बुधबार दिउँसो काठमाण्डु विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी क्याप्टेन अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us