काठमाण्डु, ३० असार– एमाले अध्यक्ष केपी ओली आज थौचोपटक प्रधानमन्त्री नियुक्त हुँदैछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई लिएर ओली बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गर्न शुक्रबार राति राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाउन नसकेपछि सोही दिन राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । ओलीको पक्षमा काँग्रेस–एमाले र मधेसवादी दलसहित १ सय ६६ सांसदले हस्ताक्षर गरेका छन् ।
पौडेलले साँझ ५ बजेसम्मका लागि दाबी पेश गर्ने समयसीमा तोकेकाले उक्त समयसीमा सकिएपछि ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री पदको सपथ सोमबार बिहान ११ बजे मात्र हुने भएको छ । ओलीले सोमबारै काँग्रेस र एमालेबाट केही नेतालाई मन्त्री नियुक्त गर्नेछन् ।