ललितपुर, २९ असार– एमाले महासचिव शंकर पोखरेलले ०८४ को निर्वाचनमा काँग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने बताएका छन् ।
मानव अधिकार एलाइन्सद्वारा ललितपुरमा आयोजित कार्यक्रममा पोखरेलले अहिले मिलेर सरकार बनाउन लागेको भए पनि ०८४ को निर्वाचनमा भने दुई दलबीच प्रतिस्पर्धा हुने पोखरेलले बताए ।
जनताले अस्वीकार गरेकाहरुले शासन गर्ने व्यवस्था सधैंका लागि अन्त्य गर्न आफूहरु मिलेको उनको भनाइ थियो । पोखरेलले साना दलले सत्ताका सौदाबाजीका लागि जनताका भावनामाथि खेलबाड गर्ने परम्परा सधैंका लागि अन्त्य हुनपर्नेमा आफू रहेको उल्लेख गरे ।
‘जनताले अस्वीकार गरेकाहरुले शासन गर्ने व्यवस्था अब सधैंका लागि अन्त्य गर्नुपर्छ’, पोखरेलले भने, साना दलले सत्ताका सौदाबाजीका लागि जनताका भावनामाथि खेलबाड गर्ने परम्परा सधैंका लागि अन्त्य गर्नका लागि दुई दल मिलेका हौं ।’ पोखरेलले साना दलले मुलुक बनाउन नसक्ने भएकाले देश बाउन काँग्रेस र एमाले मिलेको जिकिरसमेत गरे ।
०८४ दुवै दलले कसैसँग गठबन्धन नगर्ने सहमति गरेको भन्दै उनले निर्वाचनपछि कांग्रेस वा एमालेमध्ये एउटा दल सरकारमा र अर्को दल प्रतिपक्षमा हुने बताए ।
फरक प्रसंगमा पोखरेलले शुक्रबार प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई पदमुक्त हुने भएपछिको छटपटीको संज्ञा दिए ।
पोखरेलले अब बन्ने सरकारले युवा शक्तिलाई मुलुकबाहिर पलायन हुनबाट रोक्ने दाबी गरे । ‘युवाहरुलाई हामी आफैँ देश बनाउँछौ भन्ने भावना जगाएर विदेश पलायनबाट रोक्नुपर्छ’, उनले भने ।