काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।
शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका हुन् ।
सरकारको नेतृत्व गरेको १८ महिनामा शुक्रबार प्रचण्डले पाँचौंपटक संसदमा विश्वासको मत मागेका थिए । प्रतिनिधिसभका दुई प्रमुख दल काँग्रेस र एमालेबीच सत्ता समीकरणको सहमति भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । काँग्रेस र एमालेले आफूहरुबीच सहमति भएकाले राजीनामा दिएर मार्ग प्रसस्त गर्न प्रधानमन्त्रीमाथि दबाब दिएका थिए ।
तर, प्रधानमन्त्री प्रचण्डले काँग्रेस–एमालेबीच भएको भनिएको सहमति सार्वजनिक नगरिएको र एक महिनाभित्र विश्वासको मत दिन पाउने संवैधानिक अधिकार रहेको भन्दै विश्वासको मत लिएका हुन् । संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।
प्रधानमन्त्रीको पक्षमा ३२ सिट रहेको उनको दल नेकपा माओवादी केन्द्र, २१ सिटको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र १० सिट रहेको नेकपा एकीकृत समाजवादीका सांसदले मात्र मत दिए । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ सांसदको समर्थन चाहिन्छ । तर, प्रधानमन्त्रीको पक्षमा जम्मा ६३ मत र विपक्षमा १ सय ९४ मत र मत दिन्न भन्ने अर्थात तटस्थमा एक मत परेको भन्नेमा १ मत परेको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभालाई जानकारी दिए । प्रतिनिधिसभामा २ सय ७५ मध्ये शुक्रबार २ सय ५८ सांसद उपस्थित थिए ।
१० पुस २०७९ मा तेश्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पहिलोपटक सोही महिनाको २६ गते विश्वासको मत लिएका थिए । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक २०७९ चैत ६ मा, तेस्रोपटक २०८० फागुन ३० र चौथोपटक गत ७ जेठमा विश्वासको मत लिएका थिए ।
कांग्रेस, एमाले, राप्रपा, अशोक राई नेतृत्वको जसपा, उपेन्द्र यादव जसपा नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले मतसम्बन्धी प्रस्तावको विपक्षमा मत दिए ।
काँग्रेस र एमालेबीच गत १७ असारमा संविधान संशोधनसहित आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । प्रधानमन्त्री पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । काँग्रेस र एमालेबीच पहिलो चरणमा एमाले अध्यक्ष केपी ओली र दोश्रो चरणमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी छ ।