विराटनगरमा एक युवकको हत्या, २ जना घाइते

काठमाण्डु टुडे २०८१ असार २५ गते १५:२३ मा प्रकाशित

काठमाण्डु, २५ असार– विराटनगरमा एकजना युवकको हत्या भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ ।

सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिए ।

घाइतेमध्ये कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले भने घाइतेलाई अस्पताल पुर्‍याएपछि मात्रै घटनाको जानकारी पाएको बताएको छ । मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको एसपी कार्कीले बताए । ‘सानो चोट देखिन्छ तर भित्रसम्म चोट परेकाले मृत्यु भएको जस्तो देखिन्छ,’ उनले भने,‘ घाइतेको शरीरमा पनि धारिलो हतियारले घोपेको चोट छ ।’घाइते रायको अवस्था गम्भीर छ ।

उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेको चोट छ । मण्डलको पाखुरा र ढाडमा घोपिएको चोट छ । उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा कसको संलग्नता छ भन्ने खुलेको छैन । प्रहरी उपरीक्षक कार्कीले अनुसन्धान गरिरहेको बताए । ‘दिउँसो उनीहरुको कतै झगडा भएको रहेछ, त्यसको रिसमा घटना भएजस्तो देखिन्छ,’ उनले भने, ‘आफैंआफैं झगडा गरेको पनि हुनसक्छ, आज दिनभरीमा सबै पत्ता लग्छ ।’घटनास्थलबाट एउटा मोबाइल बरामद गरीएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us