सहरी विकासमन्त्री बुढाको सम्पत्ति: ७ वटा घर, डेढसय तोला सुन, एउटा हाइलक्स र एउटा प्राडो गाडी

काठमाण्डु टुडे २०८१ जेठ ८ गते १९:११ मा प्रकाशित

काठमाण्डु,८ जेठ– सहरी विकासमन्त्री धनबहादुर बुढाको आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन । उनले काठमाण्डु सहित विभिन्न स्थानमा ७ वटा घर रहेको सम्पति विवरणमा उल्लेख गरेका छन ।

मन्त्रिपरिषद्को हालै बसेको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको सम्पतिको विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

त्यसमा सहरी विकासमन्त्री बुढाकै नाममा डोल्पाको ठूलोभेरी नगरपालिका–३ मा ५ रोपनीमा बनेको ४ वटा घर रहेको देखिएको छ । यस्तै सोही स्थानमा श्रीमती हिमाली बुढाको नाममा ७ तल्ले घर एउटा छ ।

काठमाण्डु महानगरपालिकामा नै श्रीमतीको नाममा बुढाले १६ आना र २० आना जग्गामा बनेको ३–३ तल्ले दुइटा घर आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

उनले उक्त घरजग्गाको स्रोत पैतृक तथा व्यापार व्यवसायलाई देखाएका छन् । उनकी श्रीमतीको नाममा काठमाडौं–६ मा ६ आना क्षेत्रफल भएको घडेरी समेत रहेको विवरणमा उल्लेख गरीएको छ ।

मन्त्री बुढासँग १ सय ५० तोला सुन र ३ सय तोला चाँदी रहेको । उक्त सुनचाँदीको स्रोत पनि उनले पैतृक र व्यापार उल्लेख गरेका छन् ।

मन्त्री बुढाको बैंक खातामा १५ लाख र उनकी श्रीमतीको नाममा ४५ लाख नगद रहेको विवरणमा उल्लेख गरेका छन । उनीसँग एउटा हाइलक्स र एउटा प्राडो गाडी रहेको सम्पत्ति विवरणमा खुलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us