
काठमाण्डु, ६ जेठ– रोल्पामा ट्याङ्कर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याङकरमा सवार लुङग्री गाउँपालिका–६ गुम्चाल घर भई हाल रोल्पा नगरपालिका–१ मेवाङ बस्ने ४३ वर्षीया रूपशरी विष्ट रहेको प्रहरीले जानकारी दिएको छ ।
रोल्पाको, रोल्पा नगरपालिका–४ खाद्य टोलमा लु.३ त ३४०२ नम्बरको ट्याङ्कर सडकबाट करिब १५ मिटर तल खसेर शनिबार बेलुकी दुर्घटना हुँदा विष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।