०८४ को चुनावसम्म वामपन्थी दल एक हुन सक्छन्: महासचिव भुसाल

काठमाण्डु टुडे २०८१ वैशाख ८ गते १८:१४ मा प्रकाशित

काठमाण्डु, ७ वैशाख– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले र माओवादी केन्द्र सच्चिए दुई वर्षभित्र सबै वामपन्थी दलहरुबीच एकता भई बलियो शक्ति बन्ने दाबी गरेका छन ।

आज (शनिबार) समाजवादी प्रेस संगठन रुपन्देहीले तिलोत्तमामा गरेको अन्तर्क्रिया कार्यक्रममा महासचिव भुसालले यस्तो दाबी गरेका हुन । उनले वामपन्थी एकताका लागि माओवादी केन्द्र माओवादबाट माथि उठ्नुपर्ने र एमाले व्यक्ति पूजाबाट माथि उठ्नुपर्ने पनि बताएका छन ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्ती कमजोरीहरु स्वीकार गरेकाले अहिलेको गठबन्धन बनेको भन्दै भुसालले नेपालको भविष्य ठीक बनाउन वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताएका छन ।

उनले भने, ‘आफूबाहेक अरुलाई कम्युनिष्ट र वामपन्थी नदेख्ने केपी ओली त्यसै अहिलेको समीकरण बनाउन आउनुभएको हैन’, भुसालले भने, ‘पार्टीभित्र र बाहिर सबै हेरेर अब एक्लै सकिन्न भन्ने रियलाइजेसन गरेर यो समीकरणमा आउनुभएको हो भन्ने लाग्छ, अब २०८४ को चुनाव अघिसम्म एमाले, माओवादी, एकीकृत समाजवादी, विप्लव सहितका वामपन्थी दलहरुबीच एकता हुनसक्छ ।’

आफ्नो दलको महाधिवेशनले वामपन्थी दलहरुबीच एकताका लागि स्पष्ट मार्गनिर्देश गर्ने राजनीतिक कार्यदिशा ल्याउने भुसालको तर्क रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us