ट्राफिक जरिवाना बढाउँछु: गृहमन्त्री लामिछाने

काठमाण्डु टुडे २०८१ वैशाख २ गते १६:२० मा प्रकाशित

काठमाण्डु, २ वैशाख– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब ट्राफिक जरिवानाको रकम बढाउने बताएका छन । आज आइतबार काठमाण्डुमा ट्राफिक सचेतना अभियानको सुरुवात गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन ।

उनले ट्राफिक नियम उल्लङ्घन बापत अहिले लिने गरिएको जरिवाना रकम वृद्धि गर्ने घोषणा गरेका छन । ‘रोड टेस्ट’ बिना लाइसेन्स दिने अहिलेको प्रणाालीमा सुधार गर्नुपर्ने उल्लेख गर्दै लामिछानेले ट्राफिकलाई भत्ता दिने व्यवस्था गर्ने पनि बताएका छन ।

उनले भने, ‘चालकसँग एक–दुई सय लिएर सङ्गठनको बेइज्जत नगर्नुस् ।’ सार्वजनिक यातायात सुधार गर्न पूर्व सचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्री लामिछानेले प्रतिबद्धता जनाएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको सचेतना अभियान एक सातासम्म चल्नेछ । अब ट्राफिक प्रहरीको बोली नरम र कारबाही कडा हुने उल्लेख गर्दै लामिछानेले दुर्घटना सङ्ख्यालाई पनि कार्य सम्पादकको विषय बनाउने बताए ।

उनले भने– ‘नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजानुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us