चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो वैशाखमा

काठमाण्डु टुडे २०८० माघ २४ गते १५:५२ मा प्रकाशित

काठमाण्डु, २४ माघ– आगामी २०८१ वैशाख दोस्रो साता काठमाण्डुमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो–२०२४ आयोजना हुने भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नाराका साथ १२ देखि १४ वैशाखसम्म भृकुटीमण्डपमा एक्स्पो आयोजना हुन लागेको हो ।
राजधानीमा बुधबार आयोजकद्वारा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा इप्पान अध्यक्ष गणेश कार्कीले सरकारले १२ वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र तयार गरेको भन्दै सरकारको अभियानमा साथ दिन एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिए । भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने तथा आन्तरिक बजारमा १३ हजार ५ सय मेगावाट विद्युत् खपत गर्ने सरकारको योजना रहेकाले बजारको समस्या नहुने उनको भनाइ थियो ।

‘१० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्ने सम्झौता भर्खरै भएको छ’, कार्कीले भने, ‘स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको हो ।’

बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो फलयादी हुने विश्वासे इप्पानको छ ।

एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पूँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत् व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताइएको छ ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था, सिमेन्ट, डन्डी लगायतका २०० स्टल रहने छन् । तीमध्ये झण्डै ५० प्रतिशत विदेशी स्टल हुने इप्पानले जनाएको छ ।

इभेन्ट सोलुसन प्रालिले व्यवस्थापन गर्ने एक्स्पोको स्टल बुकिङ बुधबारदेखि नै खुल्ला गरिएको एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us