संघीय बजेटमा तीन करोडभन्दा माथिका योजना मात्र राखिने

काठमाण्डु टुडे २०८० फागुन १२ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, १२ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् ।

शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्रीले संघीयता बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए ।

‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन ।   रणनीतिक महत्वका योजना मात्र संघमा राख्छौं’, उनले भने, ‘तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन् । बजेटको क्षेत्र तोकेर पठाइन्छ । आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ ।’

नयाँ योजना धेरै नथपी पूरा हुन बाँकी पुराना योजनामा बजेट बिनियोजन गरिने प्रतिबद्धता प्रचण्डले जनाए । खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्ने र पुराना योजना सम्पन्न गर्ने कुरामा सरकारको पुरै जोड रहने उनको भनाइ थियो ।

फरक प्रसंगमा उनले आगामी मन्त्रिपरिषद बैठकपछि सरकारका तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गरिने भएकाले विधेयकहरू पारित गराउने काममा सक्रिय हुन सांसदहरूलाई निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us