सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित छ: राष्ट्र बैंक

काठमाण्डु टुडे २०८० फागुन ८ गते १७:२६ मा प्रकाशित

काठमाण्डु, ८ फागुन– नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ । केही व्यक्ति तथा समूहले दिएको अभिव्यक्ति र दुष्प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्र बैंकले पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको बताएको छ ।

राष्ट्र बैकंले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ’।

बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न बैंकले अनुरोध गरेको छ ।

पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू निर्देशनअनुरूप नै रहेको पनि बैंकले जानकारी दिएको छ ।

‘कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समय समयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको ’, राष्ट्र बैंकले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दँदा र निरीक्षणरसुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुने स्पष्ट पारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us