देशलाई ठूलो आर्थिक संकटबाट बचाइयोः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८० फागुन ६ गते १६:०० मा प्रकाशित

काठमाण्डु, ६ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई ठूलो आर्थिक संकटबाट बचाइएको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा आइतबार सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले एक वर्षअघि मुलुकमा ठूलै आर्थिक संकटको जोखिम रहेको र अहिले संकटबाहिर आएको बताए ।

यद्यपि उत्पादन बढाउने, रोजगारी श्रृजना गर्ने र सरकारी खर्च बढाएर अर्थतन्त्रलाई पुनः लयमा फर्काउनुपर्ने चुनौती कायमै रहेको उनको भनाइ थियो ।

सरकारले सम्पूर्ण ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित गरेको बताउँदै उनले कतिपय परिसूचक सकारात्मकसमेत रहेको उल्लेख गरे । एक वर्षअघि शोधनान्तर घाटा उच्च हुनुकै साथै विदेशी मुद्रा सञ्चिती न्यूनतम बिन्दुमा घटेको, बैंकिङ क्षेत्रमा तरलता अभाव तथा मुल्यवृद्धिको समस्या रहेकामा अहिले ती समस्या समाधान भएको दाबी प्रधानमन्त्रीेले गरे ।

प्रधानमन्त्रीले मन्त्रालयहरुले गर्ने सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका काममा आउने समस्या समाधानका निम्ति आफूले सम्वद्ध मन्त्रालयको नेतृत्वसँग दिनहुँजसो छलफल गर्ने गरेको बताए ।

यस्तै राजनीतिकका नेता, निजी क्षेत्रका प्रतिनिधि र विज्ञलाई सँगै अर्थतन्त्र सुधारका लागि के गर्न सकिन्छ भन्नेबारे पटकपटक छलफल गरेको बताए । प्रधानमन्त्री स्वयं बजेट कायाृन्वयनको अवस्थाप्रति भने सन्तुष्ट देखिएनन् ।

गत वर्षको तुलनामा केही सुधार भए पनि अपेक्षाअनुसार बजेट खर्च नभएको उनले स्वीकार गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us