
काठमाण्डु, ५ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा नेदरल्याण्ड्सले नवौं विकेट गुमाउँदै नेदरल्याण्ड्स संकटमा पुगेको छ ।
३४.२ ओभरमा कुशल भुर्तेलले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा स्कट एडवार्ड्सलाई एलबीडब्लू आउट गर्न सफल भएका छन । उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर बोर्डमा १२७ रन बनाउन सफल भएको छ ।
यसअघि ३३ औं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले आर्यन दत्तलाई व्यक्तिगत १० रनमा भीम सार्कीको हातबाट क्याच गराएका थिए । कप्तान रोहितकुमार पौडेलले २७.२ ओभरमा शरिज अहमदमलाई खाता नै खोल्न नदिइ क्लिन बोल्ड गरेका थिए भने २६.३ ओभरमा कुशल भुर्तेलले वेस्ली ब्यारेसीलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउँदै छैटौं विकेट लिएका थिए ।
यस्तै कुशल मल्लले आफ्नै बलमा नन स्ट्राइकमा रहेका नोआह क्रसलाई रन आउट गरेका थिए । खेलमा ललित राजवंशीले पूरै १० ओभर बलिङ गर्दा ३२ रन मात्र दिएर २ विकेट लिए । उनले बास डि लिडे र स्याब्रान्ड एंगेलब्रेक्टको विकेट लिए ।