
काठमाण्डु, ३ फागुन– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउन सफल भएको थियो । नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले १६ रन बनाउन सफल भएका थिए ।
शीर्ष ४ ब्याटरले दोहोरो अंकको रन नै बनाउन नसकेको अवस्थामा पाँचौ नम्बरमा ब्याटिङमा आएका भीम सार्कीले नेपाली पारी सम्हाल्ने प्रयास गरेका थिए । तर सार्की ४४ रनमा एलबीडब्लू आउट भएका थिए ।
सार्की आउट हुनुअघि नै पाँचौ विकेटका लागि ४६ रनको साझेदारी गरेर कुशल मल्ल आउट भएका थिए । मल्लले १५ रन बनाउन सफल भएका थिए । बिहानी सत्रमा नेपाली ब्याटरले निकै संघर्ष गर्नु परेको थियो ।
ओपनर कुशल भुर्तेलल रोयल डक भएका थिए भने तेस्रो नम्बरका ब्याटर अनिल साह पनि ८ रनमा आउट भएका थिए । चौथो नम्बरमा ब्यटिङमा आएका कप्तान रोहितकुमार पौडेलले १० बलमा खाता खोलेका थिए ।
तर उनी अर्को रन थप्न नसकी १३ बलको सामना गरेर बोल्ड भए । ओपनर आसिफ शेख ४ रनमा आउट भए । सोमपाली कामीले २ रन बनाए । नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५ विकेट लिए । ८.१ ओभर बलिङ् गरेका उनले मात्र २८ रन दिएका थिए ।